छापाखाना

छापाखाना पन्ध्रौँ शताब्दी तिरै तयार भएको भए पनि नेपालमा भने वि.सं. १९०८ मा जङ्गबहादुर राणाले बेलायतबाट फर्किँदा ल्याएका थिए । यसलाई ‘गिद्धे प्रेस’ भनेर चिनिन्थ्यो, तर यसको वास्तविक नाम कालेम्बियन प्रिन्टिङ प्रेस थियो । यो प्रेस जङ्गबहादुरको निवासस्थान थापाथलीमा राखिएको थियो र वि.सं. १९५८ सम्म हलुका कागजपत्र, लिफाफा, टिकट, सरकारी कागजपत्र आदि छाप्ने काम गर्थ्यो ।
केही वर्षपछि ठमेल नजिकै ठँटीहिटीमा मनोरञ्जन छापाखाना स्थापना भयो । नेपालमा पुस्तक छाप्ने पहिलो प्रेस पनि यही नै थियो । त्यसै गरी वि.सं. १९३०–१९३३ बीचमा वीर शमशेरको निवास नारायणहिटीमा अर्को छापाखाना स्थापना गरियो । साथै, ‘जङ्गी लिथोग्राफी छापाखाना’ नामक सरकारी छापाखाना पनि थियो, जुन वि.सं. १९४९ भन्दा पहिले नै वसन्तपुरमा सञ्चालनमा थियो ।
वि.सं. १९४९ मा कवुरे रत्न बज्राचार्यले हातले चल्ने प्रेस बनाएका थिए । यसै प्रेसले वि.सं. १९७९ सम्म ‘बुद्ध प्रेस’ नाममा संस्कृत र नेवारी भाषाका धार्मिक पुस्तक छाप्ने काम गर्यो । पछि यही प्रेस विभिन्न ठाउँ हुँदै पुग्दै अन्नपूर्णा प्रेस मा परिणत भयो ।
वि.सं. १९६३ मा सरकारले एउटा सानो र एउटा ठूलो सेम्टेड यूरोटा हात प्रेस किनेको थियो । त्यतिबेला कुसल शिल्पी घेनेन्द्र शमशेरले पनि प्रेस बनाएर नारायण प्रेस नाम राखी जमलमा स्थापना गरेका थिए ।
सरकारी छापाखानाबाहेक व्यवसायिक रूपमा स्थापन भएको पहिलो प्रेस वि.सं. १९५० मा पण्डित मातृकृष्ण र धीरेन्द्रकृष्णले ठँटीहिटीमा स्थापना गरेको पशुपति प्रेस थियो । त्यसपछि वि.सं. १९६९ मा नेपालमा बिजुलीबाट सञ्चालित पहिलो छापाखाना नक्सालमा स्थापना भयो ।
पञ्चायतकाल समाप्त भएर बहुदलीय व्यवस्था आएपछि नेपालमा छापाखाना तथा पत्रपत्रिकासम्बन्धी अधिकार कानूनी रूपमा सुनिश्चित भयो । त्यसपछि छापाखाना उद्योगको तीव्र विकास भयो ।
आज नेपालमा थुप्रै प्रेसहरू सञ्चालनमा छन् र अझै पनि विस्तार हुँदैछन् । प्रमुख सरकारी र गैरसरकारी प्रेसहरूमा –
-
नेपाल सरकार मुद्रण विभागको छापाखाना
-
गजेट छापाखाना
-
जनक शिक्षा सामग्री केन्द्र एजुकेसन प्रेस
-
त्रिभुवन विश्वविद्यालय छापाखाना
-
जारिगणेश प्रेस
-
सहयात्री प्रेस
आदि पर्छन् ।
हाल शहरी क्षेत्रमा छापाखानाको सुविधा सहज रूपमा उपलब्ध भए पनि दुर्गम पहाडी जिल्लामा अझै सामान्य प्रेसको अभाव छ । यस कारण केन्द्रीय तहमा सुरक्षित र व्यवस्थित प्रेसहरूको आवश्यकता अझै पनि महसुस गरिएको छ ।