Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

एङ्गलो–नेपाल युद्ध र सुगौली सन्धिपछिको नेपाल

  • Ajnabee Khadka
  • September 30, 2023
  • 914

एङ्गलो–नेपाल युद्ध र सुगौली सन्धिपछिको नेपाल

एङ्गलो–नेपाल युद्ध र सुगौली सन्धिपछिको नेपाल

सन् १८१४ देखि १८१६ सम्म नेपाल–अङ्ग्रेज युद्ध भएको थियो । तत्कालीन भाषामा भन्नुपर्दा नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनीबीच यो युद्ध भएको थियो । नेपाल र ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारबीच भएको यो युद्धलाई एङ्गलो–नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ ।

यही युद्धलाई रोक्न जुन सन्धि भएको थियो, त्यसैलाई सुगौलीको सन्धि भनिन्छ । सुगौली भन्ने स्थानमा भएको यो सन्धि ४ मार्च १८१६ मा कार्यान्वयनमा आएको थियो । यस सन्धिमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायले र ब्रिटिश पक्षबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राडशाले हस्ताक्षर गरेका थिए ।

सुगौली सन्धि अघि नेपालको कूल भूभाग २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो भने सन्धिपछि नेपालको भूभाग खुम्चेर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मात्र बाँकी रह्यो । यस सन्धिमा एक तिहाइ भूभाग नेपालले गुमाउनु प¥यो । यस अन्तर्गत दार्जिलिङ सिक्किम लगायतका क्षेत्र पनि पर्दछन् । सिक्किमका राजा छोग्यालले ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ–वर्तमान उत्तराखण्ड, गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाञ्चल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू नेपालले गुमाएको थियो । युद्धमा नेपालमाथि ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानी लगायत क्षेत्रमा आक्रमण गरेर कव्जामा लिने प्रयास असफल भएको थियो ।

नेपालको इच्छाले सुगौली सन्धि भएको थिएन

ब्रिटिशले सुगौलीमा सन्धिमा हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै सन्धिपत्र सहित राजगुरु पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई फर्कायो । नेपाललाई ती शर्तहरू स्वीकार्य थिएनन् । यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन । त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण गर्ने हल्ला फैलायो । साथै सेनाको गतिविधि बढायो । राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे । तर नेपाल बाध्य बन्यो, यसका शर्तहरू मान्न । अन्तमा बाँकी रहेको मुलुकको भूभाग जोगाउनका लागि राजगुरु पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा पठाइयो । उनीहरुले ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे ।

नेपालले ब्रिटिशले दिएको १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा मात्र बाध्य भएर हस्ताक्षर गरेको थियो । र सन्धि सोही दिनदेखि लागू भएको मानियो । ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे । सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मंञ्जुर गरिनुपर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध विक्रमबाट मञ्जुर गरेको प्रमाण भेटिँदैन । त्यसैले पनि सुगौली सन्धि त्रास सिर्जना गराएर एकतर्फी रूपमा भएको स्पष्ट हुन्छ । यद्यपि सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट छैन । जसका कारण पनि अहिले भारत नेपालको भूभाग मिच्न उद्यत देखिन्छ । तर नेपालले आफ्नो भूभाग फिर्ता लिने र भारतलाई मिचिएको सीमा फिर्ता गर्ने आधार भनेको सुगौली सन्धिकै बुँदाहरूमा टेकेर गर्न सकिने ग्रेटर नेपाल राष्ट्रका अध्यक्ष फणिन्द्र नेपाल लगायत अभियन्ता तथा सीमाविद्हरूले बताउँदै आएका छन् ।

यस्तो छ सुगौली सन्धिका मुल कुरा

१. इष्ट इण्डिया–कम्पनी तथा नेपाली राजाका बीचमा (अब उप्रान्त) सदा– सर्वदा शान्ति तथा मैत्रीपूर्ण सम्बन्ध रहिरहने छ ।

२. लडाइँ शुरु हुनुभन्दा पहिले दुई देशका बीचमा जति पनि विवादग्रस्त भूभाग थिए, ती सबै भूभाग माथिको आफ्नो दाबीलाई नेपाली राजाले छोडिदिनेछ ।

३. उपर्युक्त दफा अनुसार निम्नाङ्कित भूभागहरू कम्पनी–सरकारलाई छोडिदिन नेपाली राजा आफ्नो सहमति व्यक्त गर्दछन् ।

(क) काली (महाकाली) एवं राप्ती नदीका बीचमा रहेका सम्पूर्ण समतल भूभाग ।
(ख) राप्ती एवं गण्डकी नदीका बीचका सम्पूर्ण समतल भूभाग ।

सन्धिमा भनिएको छ, यो सम्झौतापत्र सम्पन्न भएको आजको मितिबाट ४० दिनभित्रमा उपर्युक्त सबै भूभागबाट नेपाल–सरकारले आफ्ना सैनिकलाई हटाइसक्नुपर्नेछ ।

४. माथि उल्लेख भएका भूभागहरू कम्पनी–सरकारको निमित्त छोडिदिंदा सरकारको भनाइमा कुन–कुन भारदारको निमित्त यस्तो बाधा वा असर पर्ने हो, ती–ती भारदारको नाम तथा तिनलाई पर्ने असरहरूको सम्बन्धमा लेखिई आएमा सरकारलाई उपलब्ध गराउन कम्पनी–सरकार (आफ्नो) सहमति व्यक्त गर्दछ ।

५. काली (महाकाली) नदीभन्दा पश्चिमतर्फका सम्पूर्ण भूभागहरूमाथिको आफ्नो दाबीलाई आफ्नो, प्रतिनिधिको र आफ्ना सन्तानहरूको तर्फबाट पनि सदाको निमित्त परित्याग गरी ती भूभाग तथा त्यहाँका निवासीहरूसँग पनि कुनै पनि किसिमको सम्बन्ध स्थापित नगर्न नेपाली पक्ष आफ्नो सहमति व्यक्त गर्दछ ।

६. नेपालका राजाले सिक्किम राज्यका राजालाई कहिल्यै पनि दुःख दिने छैनन् र उक्त राज्यमाथि रहेको आफ्नो नियन्त्रणलाई परित्याग गर्नको निमित्त आफ्नो सहमति व्यक्त गर्दछन् । नेपाल–सरकार एवं सिक्किम–सरकार तथा दुई देशका जनताका बीचमा (कुनै) विवाद उत्पन्न भएमा त्यस्ता विवादहरूको समाधान कम्पनी–सरकारको मध्यस्थतामा सुल्झाउनमा नेपाली राजा आफ्नो सहमति व्यक्त गर्दछन् ।

७. कम्पनी–सरकारको तर्फबाट अनुमति प्राप्त नगरी नेपाल–सरकारले कहिल्यै पनि कुनै अंग्रेज, युरोपियन वा अमेरिकन नागरिकहरूलाई आफ्नो सरकारको सेवामा राख्न पाउने छैन ।

८. दुई देशका बीचको शान्ति तथा मैत्रीको वातावरणलाई चिरकालसम्म कायम राखिराख्नको निमित्त एक–अर्काको देशमा अधिकारसम्पन्न आफ्ना वकिल (राजदूत) हरू राख्न दुवै पक्ष आफ्नो सहमति व्यक्त गर्दछन् ।

९. नौ धारा भएको यस सम्झौतापत्रमा नेपालका राजाले आजको १५ दिनभित्रमा आफ्नो मोहर लगाई लेफ्टिनेन्ट–कर्णेल पी. ब्राड्–शालाई बुझाइसक्नेछन् र उनले पनि २० दिनभित्रमा– जतिसक्दो चाँडो– कम्पनी–सरकारका गभर्नर–जनरलको तर्फबाट मोहर–दस्तखत गराई नेपाल–सरकारलाई सुम्पिदिनेछन् ।

यस सम्झौता–पत्रमा आज २ डिसेम्बर इ.सं. १८१५ तदनुसार वि.सं. १८७२ मार्ग १९ गते शनिबारका दिन सुगौलीमा दुवै पक्षद्वारा हस्ताक्षर गरिएको हो ।

यसरी ब्रिटिश ईस्ट इण्डिया कम्पनीले सुगौली सन्धि जबरजस्ती नेपालमाथि लागू गरे । यसैबीच, दक्षिण–पश्चिम भारतको मराठा शक्तिसँग ईस्ट इन्डिया कम्पनी–सरकारको किचलो शुरू भयो । आफू विरुद्ध मराठा शक्ति र नेपाल सरकार नमिलून् भनेर ब्रिटिश सरकारले अर्को रणनीति बुन्यो । उसले आफ्नो नियन्त्रणमा रहेका नेपालका अधिकांश तराई क्षेत्र फिर्ता दिने सम्बन्धी प्रस्ताव ८ डिसेम्बर १८१६ (२५ मंसीर १८७३) मा नेपाल सरकारसमक्ष पठायो । त्यसै अनुसार ब्रिटिश सरकार र नेपाल सरकारबीच सम्झौता भयो । उक्त सम्झौतामा तिरहुत तथा सारन क्षेत्रका विवादित भूभाग वि.सं. १८६९ देखि कम्पनी सरकारको नियन्त्रणमा आएपछि अन्यलाई बक्सिसमा दिएका जमीन बाहेकका भूभाग फिर्ता हुने उल्लेख थियो ।

यस्तै, कोशी तथा गण्डकी नदी र गण्डकी तथा राप्ती नदीका बीचमा रहेका तराई क्षेत्रहरूमध्ये युद्ध शुरू हुनुअघि नेपाल सरकारको नियन्त्रणमा रहेका भूभाग फिर्ता गरिएको थियो । हाल ती क्षेत्र भारतमा रहेका छन् । र, सुगौली सन्धि भएपछि र १९१४ सालमा जंगबहादुरले ‘नयाँ मुलुक’ फिर्ता ल्याउनुअघि पाएको केही भूभागसहित अहिले नेपाली सीमाना कायम छ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 55
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 128
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA