Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सदाचार भनेको के हो ?

  • Ajnabee Khadka
  • September 08, 2023
  • 730

सदाचार भनेको के हो ?

सदाचार भनेको के हो ?
परिचय:
सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार(इथिक्स) भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ ।
नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो ।
यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।
प्रशासकीय आचरण निम्न अनुसार ३ स्रोतबाट प्रवाह हुन्छ:
१) व्यवसाय आफै
२) नियम, कानुन
३) व्यक्तिका विश्वास, मूल्य
सदाचार र नैतिकताको महत्त्व :
कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ ।सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाउँछ ।सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्दछ ।सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँछ ।सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ ।सुशासन कायम गर्न सघाउँछ ।
नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको सम्बन्धमा भएको व्यवस्था :
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।
चालु चौधौँ योजनाले शासकीय सुधार अन्तर्गत प्रशासकीय सुशासन, वित्तीय सुशासन, भ्रष्ट्राचार नियन्त्रण आदि विभिन्न शीर्षकमा कर्मचारीलाई स्वच्छ, जनमुखी, उत्तरदायी, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त बनाउनको लागि लिइने विभिन्न रणनीति, कार्यनीतिहरू उल्लेख गरिएको छ ।
नेपालमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको स्थापना र अभ्यास गर्न सुशासन ऐन, २०६४, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, निजामती कर्मचारीको आचार सम्बन्धी नियमावली, २०६५ , राष्ट्र सेवकहरूको आचार संहिता, २०६८ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यी सबैमा भएको व्यवस्थाको अध्ययन गर्दा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:
  • व्यक्तिगत व्यवहार तथा पदीय आचरण:
तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने ।सकेसम्म बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित नहुने ।
अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारितासाथ पालना गर्नुपर्ने ।सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएका आज्ञालाई शीघ्रता साथ पुरा गर्नुपर्ने ।सबैप्रति शिष्ट व्यवहार देखाउनुपर्ने ।सेवाग्राहीप्रति मर्यादित व्यवहार देखाउनुपर्ने ।आफूमाथिका कर्मचारीप्रति आदर र आफू मूनिका कर्मचारी प्रति उचित व्यवहार देखाउनुपर्ने ।जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रूपमा जाँडरक्सी सेवन गर्ने वा अन्य निन्दनीय काम नगर्ने ।
  • पेशागत आचरण:
आफ्नो कामसँग सम्बन्धित सबै कानुनको जानकारी राख्नुपर्ने ।पेसाको सम्मान गर्ने तथा आफ्नो क्षमता विकास गर्न प्रयत्नशील रहने ।सरकारको आलोचना नगर्ने ।सरकारी कामकाज सम्बन्धी समाचार अनधिकृत रूपमा प्रकाशन नगर्ने ।खटाइएको कार्यालय वा स्थानमा गई काम गर्ने ।सरुवा वा अवकाश हुँदा कानुन बमोजिम बरबुझारथ गर्ने ।कानुन बमोजिम ट्रेड युनियन गठन गर्ने तथा त्यसमा सङ्गठित हुने तर दलीय राजनीतिमा संलग्न नहुने ।कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्ने ।कार्यालयका सामान तथा सुविधाको दुरुपयोग नगर्ने ।कार्यालयमा तोकिए बमोजिम परिचयपत्र तथा पोशाक लगाउने ।पेशागत कार्य गर्दा राजनीतिक तटस्थता कायम गर्ने ।
  • आर्थिक आचरण:
नेपाल सरकारको स्वीकृति विना दान, उपहार, चन्दा, सापटी नलिने ।नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै प्रकारको कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय नगर्ने ।तोकिएको ढाँचामा निर्धारित समयमा सम्पत्ति विवरण पेस गर्ने ।अचल सम्पत्ति खरिद गरेको जानकारी दिने ।आफ्नो काम कारबाही आर्थिक रूपमा मितव्ययी तथा किफायतपूर्वक गर्ने ।सार्वजनिक सम्पत्तिको संरक्षण र हिफाजत गर्न सदा तत्पर रहने ।
  • राजनीति सँग सम्बन्धित आचरण:
राजनैतिक वा अवाञ्छित प्रभाव नपार्ने ।राजनीतिमा भाग नलिने ।राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव नपार्ने । तर मतदाताको रूपमा मतदानमा भाग भने लिने ।प्रदर्शन, हडताल, थुनछेक तथा घेराउ नगर्ने ।
  • सामाजिक आचरण:
बहुविवाह, बालविवाह र अनमेल विवाह नगर्ने ।छुवा छुत तथा जातीय भेदभाव नगर्ने आदि ।
नेपालको निजामती सेवामा सदाचार र नैतिकताको सम्बन्धमा देखिएका कमीकमजोरीहरू:
नेपालको निजामती सेवामा सदाचार र आचरणको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:
सरोकारवालाको सहभागिता विना नै आचार संहिता निर्माण गरिन्छ र त्यसको आवश्यकता अनुसार सञ्चार पनि गरिँदैन । जस्तो राष्ट्र सेवक कर्मचारीको आचार संहिता, २०६८ ।आचार संहिता सम्बन्धी अव्यवहारिक कुराहरू राख्ने गरिएको पाइन्छ । जस्तो: कर्मचारीले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था निजामती सेवा ऐनमा राखिएको भए तापनि त्यसको कार्यान्वयन गर्न कठिन हुने ।आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गरिँदैन ।बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको ।कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको ।राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको ।कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर न्यून रहेको ।विभिन्न ऐन कानुनहरूमा तादत्म्यता नहुनु, जस्तो सूचनाको हक सम्बन्धी ऐनमा गलत कुरा भएको थाहा पाउने बित्तिकै त्यसलाई सार्वजनिक गर्नुपर्ने प्रावधान छ तर निजामती सेवा ऐनमा सेवामा हुँदा मात्र होइन सेवा निवृत्त भएपछि पनि सरकारी सूचना गोप्य राख्नुपर्ने प्रावधान छ ।दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ।ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेको छ ।
सुधारको उपाय:
सरोकारवालाको सहभागितामा आचार संहिता निर्माण गरी प्रभावकारी किसिमले कार्यान्वन गर्ने ।आचार संहिता निर्माण गर्न धेरै आदर्शवादी कुरा राख्नुको सट्टा व्यवहारिक तथा कार्यान्वयन हुन सक्ने कुराहरू मात्र राख्ने ।आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गर्ने र पालना नगर्ने कर्मचारीलाई कडा दण्डको व्यवस्था गर्ने ।कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाको अन्त्य गर्ने । कर्मचारीलाई अवकाश दिने किसीमको बाहेक अन्य सानातिना सजायमा पनि लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थाको अन्त्य गर्ने ।नेतृत्व आदर्शवान् तथा नैतिकवान हुनुपर्ने ।विभिन्न मौद्रिक तथा गैर मौद्रिक उपायको अवलम्बन गरी कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर बढाउने ।विभिन्न ऐन कानुनहरूमा तादात्म्यता कायम हुने गरी ऐन कानुनको निर्माण तथा परिमार्जन गर्ने रट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेकोले निजामती सेवा भित्र एकल ट्रेड युनियनको व्यवस्था गर्ने ।
निष्कर्ष
हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्गो शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता हो । यसो गर्न सके मात्र जनतामा परिवर्तनको प्रत्यक्ष अनुभूति हुनेछ र समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने दिशातर्फको हाम्रो यात्रा सही गन्तव्यतर्फ अघि बढ्ने छ ।

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 24
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 26
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 94
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 42
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA