Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

‘निरंकुश’ शासक चन्द्रशमशेरको सोच र सामर्थ्य

  • Ajnabee Khadka
  • October 12, 2023
  • 407

‘निरंकुश’ शासक चन्द्रशमशेरको सोच र सामर्थ्य

‘निरंकुश’ शासक चन्द्रशमशेरको सोच र सामर्थ्य

नेपालको इतिहासमा १०४ वर्षे राणाकाल एउटा कालो सुरुङ युगका रुपमा परिभाषित छ । तत्कालीन घात प्रतिघात र रक्तरञ्जित सत्ता संघर्षको आहालका बीचबाट चतूर, शूरवीर जंगबहादुर कुँवर (पछि राणा पदवी) ले आफ्नै नजिकका आफन्तसमेतलाई हत्या गरेर शक्ति हत्याएका थिए । त्यही सत्ता जहानियाँ शासनका रुपमा अन्ततः एक शताब्दी नेपालमा टिक्यो । राणा परिवारभित्र कट्टर सोच राख्ने र उदार सोच राख्नेहरु पनि देखिए । सुधार गर्न चाहने केही कोपभाजनमा पारिए भने केही आफ्ना निकम्मापनका कारण पलायन भए । राणा शासनको कुरा गर्दा मुलतः जंगबहादुर र चन्द्र शमशेर नै त्यसका मुख्य खाँबो देखिए । दुबैले गरेर १०४ मा करिब ६० वर्ष शासन सत्ता आफ्नो हातमा राखे ।

संसारमा आफ्नो साम्राज्य विस्तार गरिरहेको बृटिशको महत्वाकांक्षालाई युद्धमै पुगेर भीमसेन थापाले लगाम लगाए (यद्यपि युद्धमा जाँदा नेपालले जितेका एक तिहाई भुभाग गुम्यो भने युद्धमा जाने भीमसेन थापाको नीतिलाई आलोचना गर्नेहरु पनि प्रशस्तै छन् । थापाले ३० वर्ष शासन चलाएका थिए ।) । संसार निल्दै हिंडेको बृटिशको महत्वाकांक्षा रोक्न जंगबहादुर र चन्द्र शमशेरले भने कूटनीतिक चातूर्यता देखाएको देखिन्छ ।

बृटिशलाई रिजाएर भुगोल र शासन जोगाउने नीति यी दुई बाउ छोरा (नातामा जंग ठूलो बाउ) ले अख्तियार गरे । यद्यपि, जंगबहादुरले जुन बाटो अख्तियार गरेर सत्ता हत्याएका थिए आखिर उनको शेषपछि उनकै भतिजाहरु (कान्छा भाई धीर शमशेरका छोराहरु) ले उसैगरी उनका सन्तानको कत्लेआम गरे र शक्ति हत्याए । जंग खलक नामेट पारेर सत्तामा आएका शमशेर खलकमा सबैभन्दा लामो समय शासन गर्ने चन्द्र शमशेर नै रहे । तीन दशक लामो आफ्नो कार्यकालमा उनले चाहँदा धेरै गर्न सक्थे होलान् तर तत्कालीन परिवेशमा जे गरे त्यो पनि निकै महत्व र दूरगामी भने प्रमाणित भएको छ ।

संसारबाट अलग्गिएर कुनै टापु मुलुकझै रहिरहेको नेपाल दुई/दुई पटक विश्वयुद्धमा सामेल हुनेक्रममा (तत्कालीन बृटिश सत्तालाई सैन्य सहयोग गरेर नेपालले गुन लगाएको) विश्वको विभिन्न मुलुक पुगेका नेपालीले बोकेर ल्याएको चेतनाले देशभित्र राणा शासनप्रति प्रश्नहरु त उठ्न थालेका थिए । तर त्यो निकै मलिन देखिन्थ्यो । त्यही बीचमा बेलायत (युरोप) यात्रा गरेका दुई बाउ–भतिज (जंग–चन्द्र) ले त्यहाँबाट फर्किएपछि न्याय, कानुन, समाज सुधार र विकासको क्षेत्रमा केही कदम उठाएका थिए ।

चन्द्र शमशेरले गरेका महत्वपूर्ण कामहरु

चन्द्र शमशेर तिनै शासक हुन् जसले एशियाकै दोस्रो विद्युत् परियोजना निर्माण गरी ‘चन्द्र ज्योती प्रकाश’ नामक बिजुली बत्ति बालेर दुनीञालाई देखाए । अहिले निकै नै उच्च श्वरमा रेलको हल्लाखल्ला चलाइएका बेला उनले त आजभन्दा झण्डै एक शताब्दी अगावै अमलेखगञ्ज–रक्सौल खण्डमा रेल चलाएका थिए । एशियाकै पहिलो सुरुङ होस् वा नहर प्रणालीबाट सिंचाईको थालनी उनैको समयमा भयो । कलेज खोलेर पठनपाठन गराउनेदेखि रोपवे उनैको समयमा भएको थियो । सती प्रथा र कमाराकमारी उन्मूलन जस्ता क्रान्तिकारी सामाजिक सुधारको काम पनि तिनै निरंकुश अधिनायकवादी शासकले गरेका थिए भन्दा आश्चर्य लाग्ला ।

फर्पिङ लघु जलविद्युत र चन्द्र बत्ति परियोजना:

एशियाकै दोस्रो जलविद्युत परियोजना, फर्पिङ लघु जलविद्युत् परियोजना वि.सं. १९६८ मा काठमाडौं उपत्यकामा निर्मित ५ सय किलोवाट क्षमताको हो । चन्द्रशमशेरको पालामा गेहेन्द्र शमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई ‘श्री चन्द्रज्योति प्रकाश’ भन्ने गरिन्थ्यो । फर्पिङ जलविद्युत् गृहको उद्घाटन भने राजा पृथ्वी वीरविक्रमले बिसं १९६८ साल जेठ ९ गते गरेका थिए । चीन र जापानभन्दा पहिले बिजुली बालेको नेपाल एशिया महादेश मै बिजुली बाल्ने भारतको दार्जिलिङ पछि दोश्रो हो ।

रोप वे अर्थात् रञ्जुमार्ग निर्माण: वि.सं. १९८३ मा नेपालमा पहिलो रञ्जुमार्ग रोपवे धुर्सिङदेखि मातातीर्थसम्म चन्द्रकै शासनकालमा सम्पन्न भएको थियो । जसमार्फत् काठमाडौंसम्म तराईबाट खाद्यान्न तथा भारतबाटसमेत केही सामानहरु ल्याइन्थ्यो ।

अमलेखगञ्ज–रक्सौल रेल: वि.सं. १९८४ मा नेपालमा पहिलो रेलवे बिछ्याई रेलसेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल गभर्मेन्ट रेलवे स्थापना गराए । जसले तराई र भारतबाट काठमाडौं सामान ल्याउन निकै सहज बनायो ।

चन्द्र नहर: सप्तरी जिल्लाको उत्तर पश्चिममा स्थापना गरिएको चन्द्र शमशेरले शुरु गरेको सिंचाई नहर हो यो । नेपालको पहिलो आधुनिक नहर चन्द्र नहरको निर्माण वि.सं १९७९ मा थालनी गरी वि.सं १९८५ मा सम्पन्न भएको थियो । फत्तेपुर त्रियुगा नदीमा निर्मित यो नहरको खाका नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका हुन् ।

त्रि–चन्द्र कलेज: वि.सं. १९७५ मा नेपालमै उच्च शिक्षा दिने उद्देयले पहिलो पटक त्रिचन्द्र कलेजको स्थापना चन्द्र शमशेरले गराएका हुन् । यहीबाट नै नेपालमा उच्च शिक्षाको विधिवत शुरुवात भएको हो ।

त्रि–चन्द्र सैनिक अस्पतालको स्थापनाः काठमाडौं महांकालमा निर्मित यो सैनिक अस्पताल तत्कालीन पहिलो विश्वयुद्ध विजेता बेलायतले ‘पोष्ट वार रि–कन्स्ट्रक्सन फण्ड’ अन्तर्गत युद्धको भरपर्दो सहयोग गरेको भन्दै नेपाललाई उपहारस्वरुप १९८२ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ बनाइदिएको हो ।

चुरिया सुरुङ: चुरे पहाडको भित्र हुँदै मकवानपुर र बारा जोड्ने ९ फिट चौडाई र १० फिट उचाईको ५ सय मिटरको सुरुङ बनाउने काम उनैको समयमा गरिएको थियो । इन्जिनियर डिल्लीजङ्ग थापाले १९७५ सालमा डिजाइन गरेको उक्त सुरुङ बनाउन चन्द्रशमशेरले नेपाली सेना खटाएका थिए । यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’ मा एशियाकै पहिलो सुरुङ भनेका छन् ।

नेपालमा जनगणनाको इतिहास : विक्रम सम्बत १९६८ सालदेखि विधिवतरूपमा चन्द्र शमशेरले नै राष्ट्रिय जनगणनाको प्रचलन शुरु गराएका थिए । त्यसपछि नियमित र प्रणालीगत रूपमा हरेक दश–दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ । १९६८ सालको जनगणना अनुसार नेपालमा ५६ लाख ३८ हजार ७४९ जनसंख्या थियो ।

जनगणनाको सुरुवात: गोरखा भाषा प्रकानी समिति ः चन्द्र शमशेरले विसं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समिति (हालको साझा प्रकाशन) को स्थापना गराई नेपाली भाषामा पाठ्यसामग्री निर्माण र भाषामा एकरुपता ल्याउने काम गराएका थिए ।

सति प्रथा अन्त्य: लोग्ने मरेपछि चितासँगै श्रीमतीले पनि जिउँदै जलेर प्राण त्याग्नुपर्ने जस्तो क्रूर अमानवीय सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ २५ गतेदेखि (सन् १९२० जुलाई २८) लागु हुने गरी चन्द्रशमशेरकै पालामा गरिएको थियो । यद्यपि, यसअघि जंगबहादुर राणाले पनि यस प्रथा अन्त्यका लागि पहल भने गरेका थिए ।

दास (कमरा–कमारी) प्रथा अन्त्य : वि.सं.१९८२ बैशाख १ गते चन्द्रशमशेरले दासप्रथाको उन्मुलन गरे । दास प्रथा उन्मुलन गर्दा जम्मा जनसंख्या ५५‚७३‚७८८ रहेकामा दासदासीको संख्या नै ५९‚५७३ रहेको बताइन्छ । ती मध्ये क्षतिपूर्ति तिरेर ५१‚७८३ दास दासी मुक्त गरिएको थियो । तिनका १५‚७१९ मालिकलाई ३६ लाख ७० हजार क्षतिपूर्ति दिइएको थियो ।

नेपाल बेलायत १९२३ को सन्धि: जंगबहादुरले भारतीय सैनिक विद्रोह दमन गर्न सघाएर बृटिशसँग नयाँ मुलुक फिर्ता लिएर देशको भूभाग बढाएका थिए । उनका भतिजा चन्द्र शमशेरले पनि तिब्बतसँगको युद्धलगातका विषयमा बृटिशलाई सघाउँदै नेपाल बृटिशबीच १९२३ को सन्धि गरी नेपाललाई पहिलो पटक सर्वभैत्तासत्ता सम्पन्न मुलुकको रुपमा मान्यता दिन लगाए ।

सिंहदरबार निर्माणः आफ्ना लागि भनेर बनाएको यस दरबारलाई पछि उनले देशमा प्रधानमन्त्री जो बन्छ उही बस्ने गरी व्यवस्था मिलाए । यद्यपि, उनले पछि यो दरबार सरकारलाई बेचेर राष्ट्रको ढुकुटी (कौसी तोषाखाना) बाट २ करोड रूपैयाँ झिकेको इतिहास छ ।

चन्द्र शमशेरले आफ्नो २९ वर्षे सत्ताकालमा गरेका अरु कार्यहरु

  • खड्ग निशान अड्डा स्थापना
  • टोखा क्षयरोग अस्पतालको निर्माण
  • सिंहदरबार बैद्यखाना

यसरी हेर्दा चन्द्र शमशेरले आफ्नो शासनको तीन दशकमा मुलुकभित्र शासकीय स्थायित्वका अलावा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण जग हालेको देखिन्छ । शैक्षिक क्षेत्रमा उनका ठूलो बाबु जंगबहादुर राणाले दरबार हाइस्कूल बनाएर थालेको अभियानमा एक कदम अगाडि बढेर कलेज स्थापना गरेको देखिन्छ ।

कूटनीतिक क्षेत्रमा बृटिशसँग नेपाललाई स्वतन्त्र मुलुकको दर्जा दिलाउन उनले गरेको २५ वर्ष लामो प्रयासलाई निकै नै सराहना गरिन्छ ।

अर्कातर्फ क्रूर अमानवीय सामाजिक प्रथाका रुपमा रहेका जिउँदै चितामा जल्नुपर्ने सती प्रथा अन्त्य र दास प्रथा अन्त्यको काम निकै नै प्रशंसनीय हुन् । वर्तमानको आँखाले हेर्दा उनले त्यत्रो समयमा गरेका यी कामलाई न्यून मान्न सकिएला । तर तत्कालीन समाज, परिवेश र सोचका अघिल्तिर चन्द्रशमशेरले गरेका यी काम त्यसबेलाका लागि जोखिमपूर्ण क्रान्तिकारी कदम थियो भन्ने मान्नुपर्ने हुन्छ ।

हामीले राणाजीहरुलाई निरंकुश शासनका लागि सत्तोसराप त गरिरह्यौं । तर सत्तरी सत्तरी वर्षसम्म पनि तिनै राणाजी (चन्द्र शमशेर) ले थालेको कतिपय कामका एक पाइला अगाडी बढाउन सकेनौं । सत्तरी वर्षसम्म जनताको सपना र आकांक्षा बेचेर अनेकन सत्ता फेरिरह्यौं त र तिनै राणाजीले बनाएका संरचनासमेत ध्वस्त बनायौं ।

चाहे रक्सौल–अमलेखगञ्ज रेल वेको कुरा गरौं या भिमझेदी मातातीर्थ रञ्जुमार्गको कुरा गरौं, यो सात दशकमा के गर्‍ यौं ? हामीलाई लज्जाबोध हुन्न ? अझै सात दशकपछि हाम्रा शासक रेलको गफ छाँटेर सत्ता हाँक्दै छन्, र भन्दैछन्, रेलमार्गको सपना देखाउने मैं हूँ । इतिहासप्रतिको सम्मान कृतज्ञ हुन नसक्ने पुस्ताले न त वर्तमान चलाउन सक्छ, न त भविष्यको आशा नै

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 9
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 36
The first nations to host major international sporting events
Others

प्रमुख अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम आयोजना गर्ने पहिलो राष्ट्रहरू

  • Jun 29, 2026
  • 50
Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 119
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA